ताजा समाचार


सुलिथुम्का डाँडामा निर्माणाधीन भ्यु टावरको अनुगमन

 नेपाल बाहक    २१ मंसिर २०७८, मंगलवार १६:५४     365 जनाले पढ़िसके

रामेछाप । रामेछापको खाडाँदेबि गाउँपालिका वडा नं ५ पकरवासमा निर्माण भइरहेको भ्यु टावरको अनुगमन गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ सहितको टोलीले भ्यु टावरको अनुगमन गरेको हो ।
अनुगमन पश्चात् टावर निमार्णको काम अन्तिम चरणमा रहेको खाडादेबि गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले जानकारी दिनु भयो । भ्यु टावरबाट रामेछाप,दोलखा,सिन्धुली र काभ्रे जिल्लाका अधिकांश भागहरूको दृश्यावलोकन छ । उहाँले निर्माणाधीन भ्यु टावरलाई गाउँपालिकाको प्रमुख पर्यटकीय केन्द्रबिन्दुका रूपमा हेरिएको समेत बताउनु भयो । भ्यु टावर बनेपछि पर्यटन विकासमा टेवा पुग्ने उहाँको विश्वास छ ।
भ्यु टावरले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरूको विकाससँगै जिल्लाकै आर्थिक वृद्धिमा सहयोग पुग्ने जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले बताउनुभयो ।
बागमती प्रदेश सरकारको लगानीमा निर्माणाधीन भ्यु टावरको २०७७ पुस १० गते जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले शिलान्यास गर्नुभएको थियो । बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास योजना अन्तर्गतको दुई करोड ८९ लाख ६३ हजार ७७२ रुपियाँ लागतमा ९५० मिटर खुड्किला सहित पाँच तले भ्यु टावर र शौचालय सहित २०७८ जेठ महिनासम्म निर्माण सम्पन्न गर्ने गरी सुनकोसी कन्स्ट्रक्सन निर्माण सम्झौता भएको थियो ।