ताजा समाचार

रामेछापको फुलासीमा सनराइज बैङ्कको शाखारहित बैङ्किङ सेवा सुरु

 नेपाल बाहक    ८ माघ २०७८, शनिबार १२:३१     46 जनाले पढ़िसके

रामेछाप । सनराइज बैङ्क लिमिटेडले रामेछापको मन्थली नगरपालिका–१४ फुलासीमा शाखारहित बैङ्किङ सेवा सुरुवात गरेको छ ।

सो शाखारहित बैङ्किङ सेवा सञ्चालनमा आयसँगै बैङ्कको शाखारहित बैङ्किङ सेवा सङ्ख्या ८४ पुगेको छ । बैङ्कले बैङ्किङ सेवाको प्रतिनिधिका रूपमा वसन्तकुमार लामालाई नियुक्त गरेको छ ।

शुक्रबारबाट सो शाखाले सेवा सुरु गरेको छ । सेवा प्रारम्भ कार्यक्रममा सनराइज बैङ्क मन्थली शाखाका प्रबन्धक रमेशराज सुवेदी लगायतको सहभागिता रहेको थियो ।

बैङ्किङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैङ्किङ सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने बैङ्कले जनाएको छ । सो सेवाबाट ग्राहकले निक्षेप जम्मा, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरू लिन सकिने बैङ्कले जनाएको छ ।

कृषि र रेमिटेन्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैङ्किङ पहुँच बढाउने उद्देश्यले सेवा सुरु गरिएको बैङ्कले जनाएको छ ।

हालसम्म सो बैङ्कले १ सय ३९ वटा शाखा, ८४ वटा शाखारहित बैङ्किङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १ सय ५८ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।