ताजा समाचार


चुनाव हारेपछि काँग्रेस वडाध्यक्षका उम्मेदवारद्वारा एमालेका कार्यकर्तामाथि आक्रमण

 नेपाल बाहक    ६ जेष्ठ २०७९, शुक्रबार ०९:३९     135 जनाले पढ़िसके

रामेछाप । रामेछापको मन्थली नगरपालिका–९ पुरानागउँमा चुनाव हारेपछि नेपाली काँग्रेका तर्फबाट वडाध्यक्षका उम्मेदवार र उनका कार्यकर्ताले एमाले कार्यकर्तामाथि आक्रमण गरेका छन् ।

पुरानागाउँमा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा प्रत्याशी समेत रहेका बुद्धिबहादुर पुलामी (भरत)ले एमालेका गोकर्णराज आरणसँग पराजित भएपछि बिहिबार राती आफ्ना मान्छे पठाएर उनले भौतिक आक्रमण गराएका हुन् ।

बिहीबार साँझ विजय जुलुस गरेर स्थानीयलाई घर घर पठाने काममा खटेका एमाले कार्यकर्ता तथा एमालेबाट निर्वाचित वडाध्यक्ष गोकर्णराज आरणका परिवारका सदस्यलाई एमालेको वडा पार्टी कार्यालयमै छिरेर कााग्रेस कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका बनाएका छन् । आक्रमणबाट घाइते भएका एमालेका ५ जना कार्यकर्तामध्ये ४ जनालाई मन्थलीस्थित तामाकोशी सेवा समितिमा ल्याएर उपचार गरिएको छ ।

‘देखिने बाहिरी चोट केही पनि छैन, तर लात्ताले छातीमा र ढाडमा हिर्काएछन्, साइकलको चेनले टाउँकोमा हिर्काउँदा भित्रि चोट छ की भन्ने शंका छ’ एमालेबाट नवनिर्वाचित वडाध्यक्ष गोकर्णराज आरणले भने ।

आक्रमणबाट नवनिर्वाचित वडाध्यक्ष आरणका छोरा उत्तम आरणलाई पनि चोट लागेको छ । उनको सिक्री पनि हराएको छ ।

९ वटा मोटरसाइकलमा प्रवीण गिरी, दोबहादुर पुलामी, रुपेश मगर, यमबहादुर थापा, अश्मित पुलामी लगायतका काँग्रेस कार्यकर्ता चक्कु र साइकलको चेन सहितका हतियार लिएर एमालेको वडा कार्यालयमै पुगेका थिए ।

आक्रमणबाट एमाले कार्यकर्ताहरू गौतम आरण, उत्तम आरण, ओमप्रकाश आरण, नारायण आरण र खड्गराज आरण घाइते भएका छन् ।

कसरी भयो घटना ? यसो भन्छन् नवनिर्वाचित वडाध्यक्ष आरण

विजयी र्याली मनाएर पुरानागाउँ जाँदा ५०÷६० जना थियौँ, बीचमा थपिँदा ८०÷१०० जना भयौँ । त्यहाँ नजिकै सहिद टिकाराज आरणको सालिक छ, उहाँ मेरो परिवारभित्रको व्यक्ति पनि हुनुहुन्थ्यो, त्यसैले त्यहाँ गएर उहाँको सालिकमा माल्र्याण गर्यौँ, त्यसपछि हाम्रो पार्टीको वडा कमिटीको कार्यालयमा पुगेर र्याली सकियो । त्यहाँ आउनु भएका बुढा बा आमा र अरु कार्यकर्तालाई घरघर पठाएर त्यहाँको सामान व्यवस्थापन गर्न छोरालाई र केही कार्यकर्ता साथीहरुलाई छोडेर म पनि घर तर्फ लागेँ ।

मलाई पनि त्यहाँ भेटिन्छ र सबैलाई मार्ने नै नियतले उनीहरु आएका रहेछन्, आक्रमण गर्न थालेपछि पक्की घरको गेट लगाएर भित्र बस्दा पनि उनीहरुले छोडेनछन् । त्यहाँ रहेका महिला र मेरी छोरी ममितामाथि नै अपशब्द बोलेर घरको गेट नै भत्काएर भित्र छिरेछन् । घरभित्र पसेर ढोका लगाएर बस्दा ढोकामा लात्ता हानेर सबै बिगारेका छन् ।

महिला दिदीबहिनीहरु नभएको भए मेरो छोरासहित त्यहाँ भएका ५ जनालाई नै उनीहरुले मार्ने थिए ।

के कारणले यस्तो भयो भन्दा, हाम्रो विजयी र्यालीमा बीचमा काँग्रेसका कार्यकर्ता छिरेर पटका पड्काईदिएका थिए । त्यसपछि निवर्तमान वडाध्यक्ष भरत जीले मेरो छोरालाई फोन गरेर ‘तिमीहरु बन्दुक पड्काउने ? गाउँमा आतंक मच्चाउने ? म अब हेर के गर्छु ?’ भनेर थर्काउने काम गर्नु भएको थियो ।

त्यसपछि मलाई पनि त्यहीँ भेटिन्छ भनेर उनीहरु ज्यान मार्ने नियतले नै आएको देखिन्छ । साँझ ६ः३० देखि ७ बजेको समयमा घटना भएकाले हुनाले त्यहाँ रहेका महिला दिदीबहिनीले प्रतिवाद गर्दा हाम्रा कार्यकर्ता बाँच्न सफल भए ।

घटना लगत्तै हामीले प्रहरीलाई खबर गर्यौ । डेढ घण्टापछि प्रहरी आईपुगे । प्रहरी जाँदा निवर्तमान अध्यक्ष घरमा भेटिनु भएन । अनि हामी प्रहरीकै गाडीमा मन्थली आयौँ । अनि घाईते भएका ४ जनलाई तामाकोशी सेवा समितमा औषधि गर्दैछौँ ।

सकेसम्म मार्ने र त्यो गर्न नसके वडामा हामीलाई काम गर्न नदिने नियत देखिन्छ । लोकतान्त्रिक विधिमा गईसकेपछि हार र जित स्वभाविक हो । त्यसलाई स्वीकार गर्नुपर्छ । विगतमा पनि हामीले उहाँसँग हारेकै थियौँ, हामीले यसरी भौतिक आक्रमणमा उत्रिने, असहयोग गर्ने गरेनौँ । प्रशासनले जसरी हुन्छ, निवर्तमान वडाध्यक्ष बुद्धिबहादुर ज्यूको आतंक बन्द गर्नुपर्छ ।

के भन्छ प्रहरी ?

घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।