ताजा समाचार


सैपुका सामुदायिक विद्यालय आइतबार पनि पठन पाठन हुने

 नेपाल बाहक    २१ जेष्ठ २०७९, शनिबार १५:५१     171 जनाले पढ़िसके

रामेछाप । लिखु तामाकोसी गाउँपालिका–२ सैपुका सामुदायिक विद्यालय आइतबार खुल्ने भएका छन्। शुक्रबार वडा अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा बसेको बैठकले आइतबार सामुदायिक विद्यालयमा सार्वजनिक बिदा नदिने निर्णय गरेको हो।

बैठकले प्रत्येक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहको विवरण संकलन गरी विद्यालय मर्ज गर्ने वा घटाउने प्रक्रिया गाउँ शिक्षा समिति र वडा शिक्षा समिति गठनपश्चात कानुनअनुसार प्रक्रिया अगाडि बढाउने निर्णय भएको वडाध्यक्ष पौडेलले जानकारी दिए।

यसैगरी बैठकले शिक्षकलाई नेपाल सरकारले तोकेको पोसाक अनिवार्य लगाउन निर्देशन दिँदै निजी शिक्षकलाई पोसाक भत्ताका लागि बजेट गाउँ सभामा पेश गर्ने निर्णयसमेत गरेको छ। श्रावणबाट नयाँ पोसाक तोकेर लगाउने सहमति भएको छ।

बैठकले गाउँ सभाबाट विनियोजन गरिएको बालबालिकाका लक्षित कार्यक्रम अन्तरगतको २ लाख रुपैयाँले प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई वडा कार्यालयको छापसहितको झोला वितरण गर्ने निर्णय गरेको छ।

शिक्षा शाखा प्रशासन सहायक जयकृष्ण चौलागाईको प्रमुख आतिथ्यतामा बसेको बैठकमा सैपुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक र सरोकारवालाहरु सहभागी थिए।
भेलामा सहभागीहरुले सैपुका विद्यालयको शिक्षाको गुणस्तर तथा व्यवस्थापन सुधारका लागि उनीहरु एकजुट हुने बताएका छन्। उनीहरुले शैक्षिक एकरुपता कायम गर्न पालिकास्तरीय क्यालेण्डर समयमै प्रकाशित गरी वितरण गर्न गाउँकार्यपालिकाको बैठकमा पेश गर्न निर्णय समेत गरेका छन्।