ताजा समाचार


प्रथम खाँडादेवी गाउँपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि माकादुमलाई

 नेपाल बाहक    २४ आश्विन २०७९, सोमबार ०८:०९     42 जनाले पढ़िसके

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–६ नं वडा कार्यालयको सहयोगमा माकादुम खेलकुद परिषद्ले सञ्चालन गरेको प्रथम खाँडादेवी गाउँपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता शनिबार माकादुममा सम्पन्न भएको छ ।
असोज १९ गतेबाट सुरु भएको सो प्रतियोगितामा गाउँपालिका भित्रका नौ वटा समूहले भाग लिएका थिए । नौ वटा वडा रहेको सो गाउँपालिकामा वडा नं १, २ र ३ बाहेकका सबै वडाका समूहले प्रतियोगितामा भाग लिएका थिए ।
खाँडादेवी–६ माकादुमका वडाध्यक्ष नारायण कार्कीको प्रमुख आतिथ्ययतामा उद्घाटन भएको सो प्रतियोगिताको सहप्रायोजन सरस्वती युवा क्लब, माकादुम युवा एकता समाज, लोकतान्त्रिक युवा बचत समूह, श्री पर्यटन व्यवसायीक सहकारी संस्थाले गरेका माकादुम खेलकुद परिषद्का आयोजक कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजन खत्रीले जानकारी दिनुभयो ।
खेलमा वडा नम्बर ६ माकादुमले प्रथम स्थान प्राप्त गरेको छ । त्यस्तै वडा नं ८ गागलले द्वितीय, वडा नं ७ खाँडादेवीले तृतीय र वडा नं ९ पिङ्खुरीले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टोलीले क्रमशः एक लाख, ६० हजार ४० हजार र २० हजार नगद प्राप्त गरेका छन् । त्यस्तै पहिलो, दोस्रो र तेस्रो हुने टिमले, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने चौथो हुने टिमलाई प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको समापन कार्यक्रम जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काको प्रमुख आतिथ्यता, उपप्रमुख प्रेमशागर थापाको विशेष आतिथ्यता तथा खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको आतिथ्ययतामा भएको थियो । समापन कार्यक्रममा वडा नं ४,५, ६ र ९ का वडाध्यक्षको पनि सहभागिता रहेको थियो ।