ताजा समाचार


प्रविधिमैत्री बन्दै नवजागरण साकोस : ६०० सदस्यलाई क्युआर कोड वितरण गर्ने तयारी

 नेपाल बाहक    ४ पुष २०७९, सोमबार ०७:०९     21 जनाले पढ़िसके

रामेछाप । रामेछापको मन्थलीमा सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था ली ६ सय सदस्यलाई क्युआर कोड वितरण गर्ने भएको छ । ८ हजार ३ सय भन्दा धेरै सेयर सदस्य रहेको नवजागरण साकोसले चालु आर्थिक वर्षको अन्तिम सम्म ६ सय भन्दा बढी क्युआर कोट वितरण गर्ने लक्ष्य लिएको हो ।
मङ्सिर अन्तिम हप्ताबाट क्युआर कोड वितरण सुरु गरेको संस्थाका व्यवस्थापक रमेश कुमार उदासले बताउनु भयो । उहाँका अनुसार हाल सम्म २५ जना सदस्यलाई क्युआर कोड वितरण गरी सकिएको छ ।
संस्थाले २०७८ चैतबाट एटिएम र २०७४ बाट मोबाइल बैङ्किङ सेवा सुरु गरेको थियो । हालसम्म संस्थाका १ सय ५० जना सेयर सदस्यले एटिएम र ३०० भन्दा बढी सेयर सदस्यले मोबाइल बैङ्किङ सेवा लिई रहेको संस्थाका व्यवस्थापक उदासले बताउनु भयो ।
संस्थामा ५९ करोड सम्पत्ति , ४ करोड ५२ लाख शेयर पुजी, ४३ करोड बचत सङ्कलन, ३९ करोड ऋण लगानि र ६ करोडको जगेडा कोष रहेको छ । संस्थाले ४ वटा स्थानीय तहका ३९ वडालाई कार्य क्षेत्र बनाएर काम गरी रहेको छ ।