ताजा समाचार


ताबेँडाँडालाई आकर्षक गन्तव्य स्थल बनाउदैँ उमाकुण्ड गाउँपालिका

 नेपाल बाहक    ३० पुष २०७९, शनिबार १३:५१     177 जनाले पढ़िसके

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले सो गाउँपालिकामा रहेको ताबेँडाँडालाई आकर्षक गन्तव्यको स्थल बनाउने गरी काम सुरु गरेको छ । सो स्थानलाई धार्मिक, पुरातात्विक र आकर्षक दृष्यावलोकनस्थलको रूपमा विकास गर्न लागिएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार बताउनुहुन्छ । उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको सिमानामा रहेको सो स्थानसम्म पुग्ने पदमार्ग, मन्दिर, च्योर्तेन लगायतका पूर्वाधार निर्माणको काम भइरहेको सुनुवारले बताउनुभयो ।
नेपाल सरकारको संस्कृति पर्यटन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा बोलपत्र मार्फत संरचना निर्माणका काम भइरहेको उहाँले बताउनुभयो । फागुन मसान्तसम्म सो काम पूरा हुने अध्यक्ष सुनुवारले जानकारी दिनुभयो । त्यस बाहेक गाउँपालिकाले छुट्टै बजेट विनियोजन गरी काम गरेको उहाँले बताउनुभयो । त्यस्तै वाग्मती प्रदेशको पूर्वाधार कार्यक्रम अन्तर्गत ५० लाख रुपैँयाको लागतमा पदमार्ग निर्माण भएको उहाँले जानकारी दिनुभयो ।
उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको साझेदारी कार्यक्रम अन्तर्गत सो स्थानमा गोकुलगंगा गाउँपालिकाले एक करोड रुपैँयाको लागतमा मन्दिर निर्माण गरेको छ । सबै पूर्वाधार निर्माणको काम सम्पन्न भएपछि सो स्थान आकर्षक गन्तव्यस्थल बन्ने सुनुवारले विश्वास व्यक्त गर्नुभयो । हिउँदमा हिउँ पर्ने र चैत बैशाखमा विभिन्न जातका गुराँस फुलेर ढकमक्क हुने ताबेँ क्षेत्र यात्राको लागि अति मनोरम छ । सो क्षेत्रमा पाइने आलु पनि त्यतिकै प्रख्यात छ ।
रामेछापको सदरमुकाम मन्थली र दोलखाको जिरीबाट समेत ताबेँसम्म पुग्ने सडक बनेको कारण पनि सो स्थानमा पुग्न सहज भएको छ । रामेछापको मन्थलीबाट रस्नालु, ठोसे हुँदै ताबें पुग्न सकिन्छ । रस्नालुबाट भुजीडाँडा हुँदै सोझै ताबेँ पुग्ने सडक पनि छ । त्यस्तै दोलखाको जिरीबाट ठोसे निस्किएर पनि सो स्थानमा पुग्न सकिन्छ ।
सो स्थानबाट सैलुङ लगायतका रामेछापका विभिन्न स्थान तथा दोलखाको जिरी, कालिन्चोक, चरिकोट, दोलखा बजार, मैनापोखरीका साथै सिन्धुपाल्चोकको खरीढुंगा लगायतको क्षेत्र देख्न सकिन्छ ।
यस बाहेक रामेछापको नुम्बुर हिमाल सहित गौरीशङ्कर, गणेश, जुगल, गौरी पर्वत तथा रोल्वालिङ हिमशृङ्खला सो स्थानबाट नजिकै देखिन्छ । मन्थलीबाट ताबेँ चार घण्टामा पुगिन्छ भने दोलखाको जिरी बजारबाट दुई घण्टामा पुग्न सकिन्छ ।