ताजा समाचार


निमार्णधिन अस्पतालको काम अलपत्र पारेर व्यवसायी सम्पर्क विहीन

 नेपाल बाहक    १२ चैत्र २०७९, आईतवार १५:५५     204 जनाले पढ़िसके


रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाको दोरम्बामा निमार्णधिन अस्पताल काम अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्क विहीन भएका छन् । २०७८ चैतमै निमार्ण सम्पन्न गर्नु पर्ने १५ शैयाको अस्पतालको काम अझै नसकिए पछि जस्ताको टहरामा स्वास्थ्य सेवा सञ्चालनमा गरिएको छ ।
एक वर्ष अघि चैत महिनामा नै निर्माण सम्पन्न गर्नुपर्ने सो अस्पताल निर्माणको १५ प्रतिशत काम पनि पूरा भएको छैन । निर्माण कम्पनी जम्मा भवनको जग उठाएर लामो समयदेखि निर्माण कार्य रोकेर सम्पर्क विहीन भएको छ ।
आरोग्य सुवेदी जेभीले २०७८ को चैत १६ गतेसम्म काम सम्पन्न गर्ने गरी २०७७ चैत १७ गते ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयमा काम नगरेपछि गाउँपालिकाले २०७९ असोज १६ गतेसम्मको म्याद थप गरेको थियो । तर थप गरेको समयमा कुनै पनि काम नगरेको कम्पनीलाई गाउँ कार्यपालिकाले एकै पटक २०८० असार २४ गतेसम्मको लागि म्याद थप गरेको छ । तथापि निर्माण कार्य सुरु भएको छैन ।
भ्याट र पीएस सहित ११ करोड ३० लाख ११ हजार ४ सय ६० रुपैयाँमा काम सम्पन्न गर्ने सम्झौता कम्पनीले गरेको थियो । सो कामको लागि कम्पनीले २ करोड २६ लाख रुपैयाँ पेस्की लिएको छ । त्यस्तै पहिलो बिलको ८२ लाख ४७ हजार ४ सय ५१ रुपैयाँ भुक्तानी लिइसकेको छ भने दोस्रो अन्तिम बिल ४६ लाख १३ हजार रुपैयाँ भुक्तानीको तयारी अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ ।
लामो समयदेखि त्यतिकै छाडेको फलाम खियाले खाएर काम नलाग्ने अवस्थामा पुगेको छ । निर्माण कम्पनी सो स्थानका निर्माण सामाग्री समेत उठाएर अन्यत्रै लगेको छ । कम्पनीले काम गर्ने कुनै छाँटकाँट नभएको स्थानीय मानबहादुर तामाङले बताउनुभयो ।
अस्पताल जस्तो संवेदनशील क्षेत्रको निर्माण कार्य अलपत्र बनाउने कम्पनीलाई कारबाही गरी निर्माण कार्य सुचारु गर्न माग गर्दै गैरसरकारी संस्था महासङ्घको अध्यक्ष समेत रहनुभएका स्थानीय रत्नप्रसाद कँडेलले जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी दर्ता गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी सोभाखर रेग्मीले सबै सरोकारवालालाई बोलाएर छलफल गर्ने निर्देशन दिनुभएको छ । तर सो छलफल पनि हुन सकेको छैन ।
भवन निर्माण भएर १५ शय्याको अस्पताल सञ्चालनमा आएमा तीन जना चिकित्सक सहित कम्तीमा २० जना स्वास्थ्य कर्मीले सेवा प्रवाह गर्ने अस्पतालका अहेब प्रवीण बराइलीले बताउनुभयो । पूर्वाधार नभएको कारण अहिले सो अस्पतालमा स्वास्थ्य चौकीको जति जम्मा ६ जना स्वास्थ्यकर्मी मात्र रहेको उहाँले जानकारी दिनुभयो ।
निर्माण व्यवसायीको लापरबाहीको कारण समयमा नै अस्पताल भवन नबन्दा अस्थायी टहरोबाट स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको स्थानीय मोविन तामाङले बताउनुभयो । सधैँ चिसो हुने दोरम्बामा जस्ताको टहराको चिसोले बिरामी थप बिरामी हुने उहाँले बताउनुभयो । गाउँमा नै अस्पताल हुँदा हुँदै उपचारको लागि भने काठमाडौँ पुग्नु पर्ने बाध्यता उहाँले सुनाउनुभयो ।
सो निर्माण व्यवसायीले काम नगरे ठेक्का सम्झौता तोडेर अर्कोलाई दिएर भए पनि काम छिटो गर्नुपर्ने स्थानीय मीनबहादुर घिसिङ बताउनुहुन्छ ।