ताजा समाचार


केब्स स्कुललाई इनोभेटिभ स्कुल अवार्ड

 नेपाल बाहक    ३ श्रावण २०८०, बुधबार १८:५८     387 जनाले पढ़िसके

रामेछाप । मन्थलीमा सञ्चालित केब्स स्कुलले इनोभेटिभ स्कुल अवार्ड प्राप्त गरेको छ । एक्जिटो एजुकेसन इन्टरनेसनल अस्ट्रेलियाको आयोजनामा सिंगापुर र मलेसियामा सम्पन्न एक्जिटो इन्टरनेसनल एक्सिलेन्स अवार्ड, सिङ्गापुर २०२३ अन्तर्गत केब्स स्कुल मन्थलीले इनोभेटिभ स्कुल अवार्ड प्राप्त गरेको हो ।

केब्स स्कुलले शैक्षिक गुणस्तर कायम गर्दै शिक्षामा सफलतापूर्वक नयाँ अभ्यास र प्रयोग गरेकोमा सो अवार्ड प्रदान गरिएको हो । शिक्षा क्षेत्रको विकासमा पुर्‍याएको विशिष्ट योगदानको कदर स्वरूप सो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

एक्जिटोले ५ सय वटा संस्थागत स्कुलको सर्वेक्षण गरी ती मध्येबाट विभिन्न विधामा ३३ वटा सर्वोत्कृष्ट स्कुल छनोट गरी विभिन्न अवार्ड प्रदान गरेको हो । आयोजकले विजेतालाई एक हप्ता सिंगापुर र मलेसियाका विभिन्न अन्तर्राष्ट्रिय स्कुल र विश्वविद्यालयको शैक्षिक अध्ययन भ्रमण र अनुभव आदानप्रदान समेत गराएको थियो ।

लिङ्कन विश्वविद्यालय मलेसियाकी कुलपति प्रोफेसर दातुक डाक्टर हज् बिबि फ्लोरिना अब्दुल्लाह र एक्जिटो इभेन्ट अस्ट्रेलियाका निर्देशक सचेत वीदीजनबाट केब्स स्कुलका सञ्चालक प्रिन्सिपल केशव तिमल्सिना र सञ्चालक लेखापाल रेविका पोखरेलले अवार्ड ग्रहण गर्नुभएको थियो । मुख्य अवार्ड समारोह जुलाई १७ मा मलेसियाको स्विस गार्डेन इन्समा सम्पन्न भएको हो । अवार्ड  प्राप्त गरेसँगै शिक्षा क्षेत्रको विकासमा अझै मेहनतका साथ लाग्न उत्प्रेरणा मिलेको विद्यालयका प्रिन्सिपल केशव तिमल्सिनाले बताउनुभयो ।