रामेछाप । रामेछापमा दुई दाजुभाइलाई अस्पताल बनाउन निशुल्क जग्गा दान गरेका छन् । अस्पताल बनाउन स्थानीय मोहन कुमार तामाङ र शम्भु घिसिङ दुई दाजु भाइले दुई रोपनी जग्गा उपलब्ध गराएका हुन् ।
रामेछापको सुनापति गाउँपालिका–२ दिमीपोखरीको गाल्पा बतासे डाँडामा अस्पताल निर्माण हुने भएको छ । स्थानीय डा दिलबहादुर तामाङले अस्पताल निर्माण गर्ने योजना अघि सार्नुभएको छ ।
तामाङ र घिसिङले कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पतालको नाममा मालपोत कार्यालय रामेछापमा आएर रजिस्ट्रेसन पास गरेर जग्गा हस्तान्तरण गरेका छन् ।
दुई दाजुभाइले प्रदान गरेको जग्गाको मूल्य अहिलेको बजार भाउअनुसार झन्डै ५० लाख रुपैयाँ पर्ने मालपोत कार्यालय रामेछापले जनाएको छ । अहिले निर्माण गर्न लागिएको अस्पताल खाँडादेवी, सुनापति र दोरम्बा गाउँपालिकाको बिच केन्द्रबिन्दुमा पर्ने भएकाले यो क्षेत्रमा अस्पताल अति आवश्यक रहेको स्थानीयहरूले बताएका छन् ।