ताजा समाचार


‘जातीय विभेद र छुवाछुतका घटनामा कमि आएको छ, तर यो पर्याप्त छैन्’

 नेपाल बाहक    २१ फाल्गुन २०८०, सोमबार १६:२९     590 जनाले पढ़िसके


रामेछापखाँडादेवी गाउँकार्यपालिकाका सदस्य गोपाल नेपालीले पहिले भन्दा अहिले जातीय विभेदका घटनामा कमि आएको बताउनु भएको छ । नेपाल बाहक डटकमसँगको कुराकानीमा उहाँले जतिय विभेदमा कमिआए पनि यो पर्याप्त नभएको बताउँदै अझ सुधार हुनु पर्ने बताउनु भयो । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश

खाँडादेवी गाउँपालिकामा दलित समुदायका नागरिकको अवस्था कस्तो छ ?

खाँडादेवी गाउँपालिकामा दलित समुदायका नागरिकको अवस्था पहिलेको भन्दा सुधार भएको छ । तर जति मात्रमा हुनु पर्ने हो त्यति मात्रमा भने हुन सकेको छैन । यसका लागि हामीले सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छौँ । केही समय अघि पनि २ दिने कानुनी सचेतना कार्यक्रम सञ्चालन गरेका थियौँ । यसले पनि दलित माथि हुने विभेद तथा अन्य कुराको सुधार हुँदै आएको छ ।

सचेतना मूलक कार्यक्रममा दलित समुदायको सहभागिता कस्तो रहेको छ ?

पालिकामा हुने कार्यक्रममा दलित समुदायको सहभागिता राम्रो नै हुने गरेको छ । हामीले केही समय अघि गरेको सचेतना मूलक कार्यक्रममा पनि ९ वडाकै प्रतिनिधित्व रहेको थियो । त्यसैले यसलाई उत्साहजनक सहभागिता रहेको थियो भन्न मिल्छ ।

साडे दुई वर्ष देखि खाँडादेवी गाउँपालिकाको कार्यपालिको सदस्यको रूपमा काम गदै आउनु भएको छ । दलित समुदायलाई लक्षित गरेर के कस्ता कार्यक्रम सञ्चालन भएका छन् खाँडादेवीमा ?

खाँडादेवी गाउँपालिकाले दलित समुदायले गर्दै आएको पेसा व्यवसायलाई अघि बढाउन विभिन्न कार्यक्रम गदै आएको छ । गत वर्ष केही वडामा पञ्चेबाजा र सुधारिएको आरन वितरण गरिएको थियो । यस वर्ष त्यस कार्यलाई निरन्तरता दिँदै प्रत्येक वडामा आरन र पञ्चेबाजा वितरण गर्ने कार्यक्रम रहेको छ । त्यसै गरी दलित समुदाय भित्र पर्ने अर्को एक समुदायको लागि जुत्ता सिलाउने तालिम सञ्चालन गर्ने कार्यक्रम रहेको छ । त्यसको कच्चा पदार्थको लागि गाउँपालिकाले सहयोग गर्ने र खाँडादेवी गाउँपालिकाका सरकारी विद्यालयका शिक्षक विद्यार्थी र सरकार कार्यालयका कर्मचारीले सोही जुत्ता किन्ने र लाउने गरी कार्यक्रम गर्ने तयारी रहेको छ ।

कतिपय स्थानमा अनुदानमा दिएको सामानको प्रयोग नगरेको पनि पाइन्छ । खाँडादेवी गाउँपालिकाको सन्दर्भमा अनुदानका सामान प्रयोग भएरनभएको बारेमा अनुगमन कतिको हुने गरेको छ ?

अनुगमनका सन्दर्भमा कुरा गर्दा सामान वितरण गर्दा वडामा संरक्षण समूह बनाएर वितरण गरेका छौँ । यसले नागरिकलाई सशुल्क सेवा प्रवाह गर्ने र मर्मत समेत त्यसै रकमबाट गर्ने गरी वितरण गरेका छौ । यस समिति वडाध्यक्ष लगायतका हुनुहुन्छ । उहाँहरूले अनुगमन गर्नु हुन्छ ।

हामीले वितरण गरेको पञ्चेबाजाको प्रभावकारिता राम्रो देखिएको छ । धेरै प्रयोग हुने गरेको समेत पाइएको छ । आरनको पनि प्रभावकारिता राम्रो देखिएको छ ।

खाँडादेवी गाउँपालिकाका दलित समुदायका नागरिकको चाहाना कस्तो रैछ ? उहाँहरूको चाहाना  अनुसार योजना बनाउनु भएको छ ?

दलित समुदायको प्रतिनिधि भएका कारण उहाँहरू लक्षित कार्यक्रम बनाउने कुरामा हामी लागेकै छौ । अझ दलित समुदायको प्रतिनिधित्व गदै गाउँ कार्यपालिकाको सदस्य समेत भएका कारणले उहाँहरूको चाहाना अनुसारको काम गर्न पहल गरेका छौ ।

लक्षित वर्गका लागि विनियोजन हुने बजेटको अवस्था कस्तो छ यहाँको पालिकामा ?

पहिले लक्षित वर्गका लागि यति प्रतिशत भनेर बजेट विनियोजन हुने गरेको थियो । सङ्घीयताको कार्यान्वयन पश्चात् आवश्यकताको आधारमा बजेट विनियोजन हुने गरेको छ । कार्यपालिका दलित समुदायको सहभागिता कम हुने हुँदा पनि पर्याप्त मात्रमा बजेट विनियोजन गर्न सकिएको छैन ।

लक्षित वर्गको क्षमता विकास र आयआर्जनका लागि गाउँपालिकाले कस्तो सहयोग गरेको छ ?

क्षमता अभिवृद्धि र आयआर्जन एक अर्काका परिपूरक हुन्न भन्ने लाग्छ । केही सचेतनाका कार्यक्रम भएका छन् भने । अघि भने जस्तै वडामा पञ्चेबाजा वितरण र सुधारिएको आरन वितरण भएको छ । तर यो पर्याप्त हैन ।

जातीय विभेद न्यनिकरणका लागि केही योजना बनाउनु भएको छ ?

जातीय विभेदका घटना बारेमा भन्नु पर्दा हाम्रो खाँडादेवीमा अन्तरजातीय विवाह भएको थाहा छैन । भएको भए पनि त्यस्ता घटना बाहिरेका छैनन् । न्यूनीकरण त भन्न मिल्दैन तर पहिलेको तुलनामा अहिले जातीय विभेद घटेको छ ।