ताजा समाचार


श्रीस्वस्थानी व्रतकथाको आज समापन गरिदै

 नेपाल बाहक    ७ फाल्गुन २०७५, मंगलवार ०१:४०     518 जनाले पढ़िसके


फागुन ७ ,काठमाडौ । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिलाले महीनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीहरूको उद्धार गर्नुभएकाले परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ । आज व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने १०८ रोटी, १०८ पान, १०८ कुड्का सुपारीलगायतका सामग्रीमध्ये आठ–आठवटा रोटी, सुपारी र पानलगायतका सामग्री आफ्ना श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मितछोरालाई दिने र मितछोरा पनि नभए मेरो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने प्रचलन छ । यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो । एकतीस अध्याय रहेको यस कथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने एवं मनले चिताएको पुग्ने कुरा पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ । स्थानीय भक्तजनका अनुसार परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महीनाका स्वामी नामले चिनिने माधवनारायणको जल, प्रसाद ग्रहण गरी गत पौष शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए । सो मन्दिर पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महीना मात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन छ ।