ताजा समाचार


बाँदर धपाउन बन्दुक पड्काउदा ओखलढुंगामा एक जनाको मृत्यु

 नेपाल बाहक    १८ कार्तिक २०७६, सोमबार १३:२२     301 जनाले पढ़िसके


ओखलढुंगा, १८ कात्तिक ।
बाँदर धपाउन पड्काएको बन्दुकले लागेर ओखलढुंगामा एक मृत्यु भएको छ । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका ३ थुम्किमा बाँदर धपाउन प्रयोग गरिएको बन्दुकले ७ वर्षीय लालमान तामाङको मृत्यु भएको ओखलढुंगा प्रहरीले जनाएको छ ।

आइतबार घर नजिकैको खेतमा बाँदर धपाउन तामाङसंगै एक समूह निस्किएका थिए । भरुवा बन्दुकसहित निस्किएका उनीहरु मध्ये एकले बोकेको बन्दुक अचानक पड्किएपछि तामाङको देब्रे तिघ्रमा लागेर घाइते भएको बताइएको छ।

घाइते तामाङलाई आइतबार नै उपचारका लागि काठमाडौं लैजाने क्रममा उनको ज्यान गएको थियो । सिन्धुलीको खुर्कोटमा पुगेपछि उनको मृत्यु भएको पारिवारीक श्रोतलाई उदृत गर्दै प्रहरीले जनाएको छ । प्रहरीलाई खबर नै नगरी मृत शवलाई घरफर्त लैजादै गरेको सूचनाका आधारमा प्रहरीले सोमबार दिउसो सिद्धिचरण नगरपालिका ११ स्थित रमाईलोडाँडाबाट शवलाई नियन्त्रणमा लिई पोष्टमाटमका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक राजिव श्रेष्ठका अनुसार बाँदर धपाउन गएका समूहमध्येका एकजना सोही स्थानका २१ वर्षीय चित्र बहादुर सुनुवारलाई प्रहरीले नियन्त्रण लिएको छ । अन्य २२ वर्षीय सविन सुनुवार,१७ वर्षीय पदम सुनुवार,१६ वर्षीय सुन्दर तामाङ र २२ वर्षीय रुकमान तामाङ फरार रहेको प्रहरी निरिक्षक श्रेष्ठले बताए । उनीहरुको साथबाट २ थान भरुवा बन्दुक समेत नियन्त्रणमा लिएको ओखलढुंगा प्रहरीले जनाएको छ ।