ताजा समाचार


न्युनतम स्वास्थ्य तथा सुरक्षा मापदण्ड पनि कार्यान्वयन नभएको नागरीक समाजको ठहर

 नेपाल बाहक    ४ कार्तिक २०७७, मंगलवार १८:३७     430 जनाले पढ़िसके


रामेछाप । रामेछापको नागरिक समाजले सेवा प्रदायक कार्यालय र बजार क्षेत्रमा बढेको भिड नियन्त्रण गर्न सरोकारवालाको ध्यानार्षण गराएको छ । मानव अधिकार संरक्षण सञ्जाल रामछाप, इन्सेक र मन्थली नगरपालिका स्तरीय नागरिक निगारनी समुहले बजार क्षेत्रमा अत्याधिक बढेको भिडभाडका कारण कोरोना संक्रमण झन बढ्न सक्ने तर्फ ध्यान दिन सरोकारवालालाई आग्रह गरेको हो । नागरिक समाजले दशैंका बेलामा पसल व्यवसाय, बैङ्क लगायतका क्षेत्रमा सरकारले जारी गरेको न्युनतम स्वास्थ्य तथा सुरक्षा मापदण्ड कार्यान्वयन नगरि अत्याधिक भिडभाड बढेकाले यसको तत्काल व्यवस्थापन तथा नियन्त्रण गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । जिल्लामा कार्यरत पत्रकार, सहकारी, पेसाकर्मीमा यो महामारका बेला जुनसुकै समयमा कोरोना देखिन सक्ने भएकाले आवश्यक आइसोलशनको व्यवस्थापनमा ध्यान दिन पत्रकार महासंघ लगायतका पेशागत संघ संगठनलाई पनि नागरिक समाजले आग्रह गरेको छ । मानवअधिकार संरक्षण सञ्जालका संयोजक अधिवक्ता पाण्डव प्रसाईले पहिलो घेरामा रहेर काम गर्ने पत्रकारहरुमा जुनसुकै बेला संक्रमण हुन सक्ने जोखिमता रहेकाले संक्रमित पत्रकारहरुलाई राख्ने आइसोलेशनको व्यवस्थापनमा पत्रकार महासंघ लगायत पेशागत संघ संगठने योजना बनाउनुपर्ने बताउनुभयो । जिल्लाका कतिपय मिडिया हाउस , सरकारी , गैरसरकारी कार्यालयहरुलेनै न्युनतम स्वास्थ्य तथा सुरक्षा मापदण्ड पनि पालना नगरि कार्य सम्पादन गरिरहेका छन् , यसले ठुलो समास्या ल्याउनसक्छ उहाँले भन्नुभयो । उहाँले जिल्लाको बजार क्षेत्र तथा बैङ्कहरुमा बढेको अत्याधिक भिडले जिल्लामा कोरोना संक्रमणको जोखिमता अत्याधिक मात्रामा बढाएको बताउनुभयो ।