ताजा समाचार


खाँडादेवी गाउँपालिकामा सार्वजनिक सुनुवाइ, सात बुँदे प्रतिबद्धता जारी

 नेपाल बाहक    १८ जेष्ठ २०८१, शुक्रबार ०८:१६     264 जनाले पढ़िसके


रामेछाप । खाँडादेवी गाउँपालिकाले यस वर्षमा हालसम्म सम्पादन गरेका कामको बिहीबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ ।
सार्वजनिक सुनुवाइमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीले गाउँपालिकाका यस वर्षका योजना अन्तिम अवस्थामा पुगेका बताउनुभयो । उहाँले उपभोक्ता समिति मार्फत हुने अधिकांश योजनाको काम सकिएको, केही योजना चालु अवस्थामा रहेका र एका दुई योजना मात्र सम्झौता हुन बाँकी रहेका जानकारी दिनुभयो ।
उपभोक्ता समिति मार्फत काम हुने योजनाका अन्तिम सम्झौता जेठ २५ गतेसम्म र कार्यसम्पादन फाइल असार १० गते भित्र कार्यपालिका कार्यालयमा आइसक्नु पर्ने उहाँले जानकारी दिनुभयो । त्यस पछि आएका फाइलको भुक्तानी दिन गाउँपालिका बाध्य नहुने उहाँले स्पष्ट पार्नुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जनताको गुनासो सुन्न र गरिरहेको काममा सुधार गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले यही परिस्थितिलाई अलिकति सुधार गरेर काम गर्ने हो भने धेरै काम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
श्रेष्ठले आफू निर्वाचित भएपछिको पहिलो वर्षलाई कृषिको वर्षको रूपमा विशेष कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । यस वर्ष शिक्षाको वर्षको रूपमा अभियान नै सञ्चालन गरिएको बताउँदै श्रेष्ठले यसबाट शिक्षाको जग बसेको बताउनुभयो ।
आउने वर्षलाई स्वास्थ्यको वर्षको रूपमा मनाउन लागिएको उहाँले बताउनुभयो । गाउँपालिकाका सबै वडा कार्यालय, निम्नमाध्यमिक तहसम्मका विद्यालय तथा स्वास्थ्य संस्थासम्म पुग्ने सडक चौडा गरी नियमित यातायात सञ्चालन हुने बनाउने, मोबाइल अस्पताल सञ्चालन गर्ने, स्वास्थ्य क्षेत्रको सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाका व्यावसायिक बाख्रा पालन, कागती, मेवा लगायतका कृषिका विभिन्न कार्यक्रम सञ्चालनमा रहेका उहाँले बताउनुभयो । भटौली खोलाको पानी खोलामा बलियो ड्याम बनाएर कुलो काटी माकादुम र पकरबास क्षेत्रमा ल्याउने योजना श्रेष्ठले सुनाउनुभयो । त्यस्तै आउने आर्थिक वर्षमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम थालिने उहाँले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष रमा घिसिङले काम गर्दा केही त्रुटि हुनसक्ने बताउँदै त्रुटि औँल्याएर सुधारको मौका दिन आग्रह गर्नुभयो । गाउँपालिकाले सकेसम्म राम्रो काम गर्ने प्रयत्न गरेको भन्दै उहाँले काम गर्दा गल्ती हुने भए पनि नियतबस गलत काम नगरेको स्पष्ट पार्नुभयो ।
गाउँपालिकामा सञ्चालित विभिन्न योजनाको अनुगमनको काम भइरहेको भए पनि नागरिक अनुगमन समेत त्यतिकै आवश्यक रहेको बताउनुभयो । नागरिकलाई आफ्नो क्षेत्रमा सञ्चालित योजनाको अनुगमन गरी वडा र गाउँपालिकालाई सजग गराइदिन घिसिङले अनुरोध गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्षहरू आफ्नो वडामा यस आर्थिक वर्षमा भएका महत्त्वपूर्ण कार्यको बारेमा जानकारी गराउनु भएको थियो । उहाँहरूले अर्को वर्ष सञ्चालन गर्नै पर्ने योजनाका बारे पनि अवगत गराउनुभयो ।
कार्यक्रमका सहभागीले लेखा अधिकृत नियमित नबस्दा योजनाको भुक्तानी लिन असजिलो भएको, विद्यालय खाजाको गुणस्तरमा ध्यान दिनुपर्ने, सीमान्तकृत समुदायका विद्यार्थीको लागि खाजा र खानाको रकम छिटो भुक्तानी दिनुपर्ने, सडकको भल बस्तीमा पस्दा क्षति भएकोले उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग राख्नु भएको थियो ।
सहभागीले उठाउनु भएको प्रश्नको गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुखहरू लगायतले जवाफ दिनुभएको थियो ।
सार्वजनिक सुनुवाइमा विभिन्न सात बुँदे प्रतिबद्धता जारी गरिएका छन् । जसमा वैकल्पिक व्यवस्था गरेर भए पनि लेखाको समस्या समाधान गर्ने, सम्झौता गर्न बाँकी योजनाका जेठ २५ सम्म सम्झौता गरी असार १० सम्म योजना सम्पन्न गर्ने, गराउने, विद्यालय खाजाको गुणस्तरका विषयमा प्रधानाध्यापकको बैठकमा छलफल गरी तत्काल समस्या समाधान गर्ने, सीमान्तकृत समुदायका विद्यार्थीका खाना र खाजाको रकम तत्काल भुक्तानीको व्यवस्था मिलाउने लगायतका विषय रहेका छन् ।